|
मन्दिरमा सयौँ साथीहरू र रामनवमी परेको कारण अन्य पूजापाठ गर्नेहरूको निकै भीड देखिन्थ्यो। मन्दिरको दर्शनपछि रातै फुलेको गुराँसको वनलाई नियाल्दै तुरुन्तै डेरामा फर्क्यौं। सबै साथीहरू आ-आफ्नो डेरातर्फ लागे, म पनि डेरामा गएर हतार-हतार खाना खाएर डेरावालासँग बिदा भएर बाहिर निस्केँ। प्रिय मित्रजनहरूको पीडादायी र वेदनायुक्त मित्रात्मक विछोडलाई पुनः भेट्ने वाचाका साथ पीडाहरूलाई मनमै राखेर आफ्नो गन्तव्यस्थान र सुदापतर्फ अगाडि बढ्ने क्रममा वसन्तपुरको ओह्रालो हुँदै तल सल्लेरी र दाँगपाको सिमाना परेवाखोलाको झोलुङ्गे पुल तरेर दाँगपा गाविसमा प्रवेश भएर मेरो यात्रा तेर्सियो। चैत महिनाको प्रचण्ड घाम र यात्राको कारण मलाई ज्यादै प्यास लागिरहेको थियो। बाटोमा खानेपानी नभएको कारण चरम प्यास र दिनको चर्को घामसँगै घरमा पुगेर मेला भर्ने सपनालाई मनमा खेलाउँदै यात्रालाई अगाडि बढाउँदै थिएँ। अचानक ठूलो छायाँ र शीतलता छाएर आयो। उभिएर आकाशतिर हेरेँ, कालो बादल मडारिएको थियो। पुनः यात्रालाई अगाडि बढाएँ। तर दुर्भाग्यवश एकैछिनमा गड्याङ-गुडुङ गर्दै हल्का पानी पर्न लाग्यो। आकाशमा कालो बादल लागेर चारैतिर कालो देखिन थाल्यो। त्यहाँ कतै घर नभएको कारण डराउँदै मेरा पाइलाहरू छिटो-छिटो चल्न थाले। तर दैवको अगाडि कसको के नै लाग्छ र ! जब म उत्तीसघारी -जङ्गलको बीचमा) पुगेँ, विशाल वर्षा, कपुरभन्दा ठूल्ठूला असिना र तीव्र बेगमा हुरीले एकैसाथ छोप्यो। साना रुखहरू जताततै ढल्न थाले भने हाँगाहरूले मलाई लाग्न थाल्यो। त्यसमाथि असिनाले कुट्दै थियो। कालो बादल र बाक्लो असिना-पानीका कारण जङ्गलभित्र बाटो पत्ता लगाउन निकै गाह्रो भयो। जब जङ्गल बाहिर आएँ, ठूल्ठूला रुखहरू सजिलै लच्किएर टाढा-टाढासम्म उडाएको दृश्यले म एकदमै डराएँ। बाटो सानो र चिप्लो अनि लामो डिल, त्रसित र थकित जीउमा गरुङ्गो झोला काँधमा बोकेर उभिएर मर्नुभन्दा दौडिएर मर्नु वेश सम्झेर सकी-नसकी हिलोमा चिप्लिँदै हुरीसँग मडारिँदै दौडिएँ। तर झन् तुफान हुरी र विशाल पानी बर्सियो। संयोगवश भीरको टुप्पो अग्लो पहाडको चुचुरोमा सानो गोठनजिक पुगेछु। असिना र विशाल वर्षाबाट जोगिन कटेरोमा पसेँ। महासागरमा डुबिसकेको थिएँ तर बीचको प्लेटमा उत्रिएको आभास गरेँ। हुरीले कटेरो नानीको कोक्रो झैँ हल्लाउँथ्यो। म मेरो जीवनको अन्तिम घडी यही रहेछ भन्दै डरले थर्रर काम्दै बसेँ। किनकि कटेरो भीरको टुप्पोमा थियो। साँझको ६ बजेतिर बल्ल हुरी रोकियो। तर सिमसिम पानी परिरहेको थियो। अझ मलाई घर पुग्न डेढ घन्टा हिँड्नुपर्छ। साँझ परिसक्यो तर पनि मृत्यु शैयाबाट बचिस् भन्दै म ओर्लिएँ। लुथु्रक्क भिजेको जिउ, थकित रूप अनि भोको पेट, म गह्रौँ झोला बोकेर सिमसिमे पानी र चिप्लो बाटोमा चिप्लेटी खेल्दै मनभरि सजाएर राखेको मेला भर्ने सपनालाई बिर्संदै मनमनै गुन्गुनाएर दुई-चार थोपा आँसु खसाउँदै यात्रालाई निरन्तरता दिएँ। झमक्क साँझ पर्यो, चारैतिर अन्धकार रातमा एकदमै डराउने र योभन्दा अगाडि एक्लै रातमा नहिँडेको कारण मलाई डर लाग्यो। तर आज अँध्यारोमा म एक्लै छु। भक्कानिएर आँखाबाट आँसुका थोपा र्झने गर्छन् भने पूरै रुन सकिरहेको छैन। घर पुग्न अझै आधा घन्टाजसो हिँड्नु छ। म बाटो देखेर पनि मूलबाटोमा दोधारिएको बटुवाझैँ दोधारिएँ। आज बाटोमा निकै बटुवाहरूसँग जम्काभेट भए पनि थोरै यात्रीसँग थोरै यात्रा मात्र गरियो। अहिले म अन्धकारमा डर र त्रासलाई लिएर बीच बाटोमा केही समय दोधारिएँ। अन्त्यमा केही सीप नलागेर अन्धो भैँसी दगुरेझैँ गरेर रक्ताम्य भएर घर पुगेछु, थाहा भएन। | |||||||||||||||||||||||||||